सुखी रहन स्वस्थ हुनुपर्छ
sinita

- डीबी खड्का, स्वास्थ्य खबरपत्रिका /

 
सुनिता दुलालको झोला खोतल्ने हो भने केही न केही खाने कुरा पक्कै भेटिन्छ । उनी खञ्चुवा भएकोले यसरी खानेकुरा बोकेर हिँड्ने गरेकी भने होइनन् । एकपटक उनलाई ग्यास्ट्रिकले निकै सताएको रहेछ । ग्यास्ट्रिक बल्झिएला कि भन्ने डरले उनी झोलामै खाना बोकेर हिँड्न थालेकी हुन् ।

 
उनी गीत गाएर पनि अरुलाई स्वस्थ रहन सचेत गराउँदै आएकी छिन् । उनी आफैं स्वास्थ्यमा कति सचेत छिन् त रु उनको उत्तर थियो, ‘पहिले खानाको खासै परवाह गर्दिनथें, शरीरले धान्न सकेसम्म भोकै रहन्थें । खाना भोक मेट्नकालागि मात्र हो भन्ने लाग्थ्यो । तर अहिले निकै सचेत भएकी छु ।’

 
केही बर्षअघि उनले एफएममा उद्घोषिका बनेर मिडियामा करियरको शुरुवात गरेकी थिइन् । उनी त्यस समयमा स्कुल स्कुल पढाउने र एफएममा पनि कार्यक्रम सञ्चालन गर्थिन् । संघर्षको यो चरणमा उनलाई खानसमेत फुर्सद थिएन । करियरलाई मात्र ध्यान दिँदा उनलाई ग्यास्ट्रिकले थला पारेको थियो । उपचारपछि मात्र उनले समयमै खानुको महत्व बुझेकी हुन् । त्यसपछि आफू स्वास्थ्यप्रति सचेत बनेको उनको भनाइ छ । आफैंले पनि भोको बसेर स्वास्थ्य समस्या झेलेका कारण अहिले उनी गीतमार्फत भए पनि जनचेतना जगाउन थालेकी छिन् ।

 
थला नपर्दासम्म वास्ता नगर्ने नेपालीको बानीले शारीरिक समस्या बढ्दै गएको उनको ठहर छ । ‘त्यसैले अहिले सबैलाई प्राथमिकताका साथ स्वास्थ्यमा ध्यान दिन आग्रह गर्छु,’ उनले भनिन् । तर, सचेत हुँदाहुँदै पनि उनलाई कामको व्यस्तताले बाहिर खाँदा फेरि समस्या परेछ । उनलाई यही कारण टाइफाइड भएछ । ‘झन्डै विदेशको कार्यक्रम छुटेको,’ उनले भनिन्, ‘पहिला त धपेडीले होला, ठीक भइहाल्छ नि भनेर सुप खाएर हिँडियो, निको नभएपछि जचाउँदा टाइफाइड भएको रहेछ ।’

 
यो बर्ष चर्चित् भएको तीजका गीतमध्ये सुनिताको स्वरको एउटा स्वास्थ्य सन्देशसहितको गीत पनि पर्छ । ‘सधैँ म त व्रत बस्छु उनलाई पाऊँ भनी ।’ यो गीतका शब्द राम्ररी सुन्नेले स्वास्थ्यसम्बन्धी चेतना समेटिएको छ भन्ने थाहा पाउँछन् । पानीसमेत नखाएर कठोर ब्रत बस्दा महिलाको स्वास्थ्यमा हुने हानीलाई मध्यनजर गर्दै गीतमार्फत् सचेतना जगाएको उनको भनाइ छ । ‘भन्नुहुन्छ स्वामीजी’ भन्ने गीतमा पानीसमेत नखाइ ब्रत नबस्नू, स्वास्थ्यको ख्याल राख्नू भन्ने जस्ता सन्देश समेटिएका छन् । सुनिता भन्छिन्, ‘पानी पनि नखाएर लिने कठोर ब्रतले कति दिदीबहिनी कमजोर भएर मन्दिरमै ढलेको पनि सुनिन्छ, त्यसैले त्यस्तो ब्रत लिनुहुन्न भन्ने सन्देश दिन खोजेकी हुँ ।’ गीत रचनाकारलाई उनी आफैंले त्यस्ता शब्द समावेश गर्न आग्रह गरेको बताइन् ।

 
तीजको दर खाने कार्यक्रममा जान भ्याइनभ्याइ छ अचेल उनलाई । नेपालमा मात्रै होइन, विदेशमा पनि उनीसँगै दर खाने र उनको लाइभ तीजमा नाच्न र गाउन चाहनेहरुले निम्ता गरेका छन् । पहिला दर खाँदा केही नबारे पनि अहिले भने उनले जथाभावी खाना बार्न थालेकी छिन् । ‘त्यसैले गीत गाउँछु, दर नखाइ फर्किन्छु ’,उनले भनिन् । मोटोपनकै कारण अहिले उनले जंकफुड पनि खान छाडेकी छिन् ।

 
उनकै भाषामा भन्दा स्वस्थ र तन्दुरुस्त रहनुको रहस्य चाहिँ तनाव व्यवस्थापन गर्न सक्नु हो । तनाव सिर्जना भएपछि दिमागलाई अन्तै लैजान कुनै न कुनै जुक्ति निकालिहाल्छिन् उनी । मनपर्ने गीत सुन्ने, मनपरेको मान्छेसँग गफिने र घुम्ने तनाव व्यवस्थापनका औजार भएको उनले बताइन् । भनिन्,‘शारीरिक र मानसिक रुपले स्वस्थ हुन हामीले सिक्नुपर्छ, सुख टाढा छैन ।’

 

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>