हेल्थ कन्सियस भिसा गर्ल
visa gal

- डीबी खड्का,
स्वास्थ्य खबरपत्रिका \

 
उपचार सर्वसाधरणको पहँुचमा छैन र पहुँचमा भएका पनि निजी अस्पतालले लिने चर्को शुल्कले रोगी छु भन्ने आँट गर्न सक्दैनन् । मुलुकको स्वास्थ्य अवस्थालाई नजिकबाट नियालिइरहेकी नायिका ऋचा शर्मालाई नेपालमा अस्वस्थभन्दा स्वस्थ मान्छेको लेखाजोखा गर्न सजिलो हुने अनुमान छ । उनले ‘ब्रेक द भ्वाइलेन्स’ समूहमा आबद्ध भएर   जनचेतना अभियानमा सहभागी भएपछि स्वास्थ्य क्षेत्रलाई बुझ्ने अवसर पाइन् ।

 
ऋचा भन्छिन्, ‘पीडा भएर उपचार गर्न नपाउनेका कथा र पीडा दबाएरै बस्नेका व्यथाबारे कुरा गरिसाध्ये छैन ।’ प्राकृतिक रुपमा हुने महिनाबारीका बारेमा खुलेर कुरा गर्न नसक्ने हाम्रो समाजमा रोग लुकाएर बस्ने महिला कति होलान् ? उनलाई बेलाबेलामा यो प्रश्नले सोच्न बाध्य बनाउँछ । वाटर एडको संयोजनमा आयोजित महिनावारीबारेका भ्रमविरुद्ध जनचेतना अभियानमा लागेपछि उनले यस्ता गम्भीर बिषयबारे थाहा पाएकी हुन् ।

 
उनलाई स्वास्थ्य नीतिकै कारण नेपालको स्वास्थ्य सेवा कमजोर भएको लाग्छ । ‘सडेका सिटामोल र गजलजस्ता मीठा नारा’ मात्रै गाउँगाउँ पु¥याउने सरकारी अभियानले स्वास्थ्य समस्या सम्बोधन गर्न नसकेको उनको ठहर छ ।  उनको अनुभवमा सरकारी, गैरसरकारी र निजी क्षेत्र शहर केन्द्रित भएकाले पनि स्वास्थ्यजस्तो संवेदनशील बिषयमा ग्रामीण भेगका जनता सेवाबाट बञ्चित हुनुपरेको छ । उनलाई यस्ता बिसंगति चिर्न नसकेसम्म आम जनताको स्वास्थ्यमा सुधार हुन सक्दैन भन्ने लाग्छ ।

 
जनशक्ति स्वस्थ नभएसम्म देश विकास असम्भव हुने  ऋचाको बुझाइ छ । ‘पानी पर्दा छानो चुहिने र डुबानमा पर्ने अस्पतालको त उपचार भएको छैन भने ती अस्पतालले दिने सेवा कस्ता होलान् ?’, उनको गम्भीर प्रश्न छ ।
उपचारको गन्तव्य भएका शहरमा टोलैपिच्छे भेटिने अस्पताल र क्लिनिकमा पनि राम्रो सेवा पाउन गाह्रो हुने  उनको बुझाइ छ । ‘बिरामी भएपछि मान्छे पैसामा कन्जुस्याइँ गर्दैन । तर, शुल्क तिरेर राम्रो उपचार गर्छु भन्दा पनि नपाइने अवस्था छ,’ उनले थपिन्, ‘औंलामा गन्न सकिने राम्रा ठाउँमा सबैको उपचार सम्भव छैन ।’ यी अवस्था बुझेकै कारण पनि ऋचालाई रोगको निकै डर लाग्छ । कुनै रोग नलागे पनि स्वस्थ मानिसले वर्षमा एकपटक हेल्थ चेकअप गर्नैपर्छ भन्ने उनको सल्लाह छ ।  उनी आफू पनि चार वर्षदेखि नियमित हेल्थ चेकअप गराउँदै आएकी छिन् । उनलाई आफू हेल्थ कन्सियस भएकै कारण कुनै रोगले अहिलेसम्म सताएको छैन रे ।

 
हेल्थ कन्सियस भएकै कारण उनले चिल्लो बारेकी छिन् । गुलियो स्वभावैले मन पर्दैन रे । उनी आफूलाई राम्री हुन केही गर्नु परेको छैन भन्छिन् । फिल्म क्षेत्रमा लागेका अधिकांश नायिकाको ध्यान फिजिकल फिटनेस र डाइटिङमा हुन्छ । ऋचा भन्छिन्, ‘मैले चाहिँ दुब्ली हुनकैलागि   केही बारेकी छैन ।’ डान्स र जुम्बा क्लास नियमित जाने भएकाले त्यसबाहेक कुनै फिजिकल एक्सरसाइज आवश्यक नपरेको उनको तर्क छ ।

 
दशैं नेपालीका लागि ठूलो उत्सव हो । यो चाडमा मासु, मदिरा र चिल्लो पदार्थको अत्याधिक सेवनले नेपालीको स्वास्थ्यकालागि प्रतिकुल बन्दै गएको ऋचाको बुझाइ छ । उनले चाडपर्वमा स्वास्थ्यको ख्याल गरेर मात्रै खान आग्रह गरेकी छन् । उनी भन्छिन्, ‘स्वस्थ रहे अर्काे साल पनि दशैं आउँछ ।’

 
भिसाको पछि कुद्ने युवा वर्गलाई लक्षित गरी बनाइएको फिल्म ‘भिसा गर्ल’मा उनले मुख्य भूमिकामा अभिनय गरेकी छिन् । भिसाको पछि लाग्नुभन्दा स्वदेशमै रहेर केही गर्ने सन्देश दिने फिल्ममा आफ्नो भूमिकाले धेरैलाई शिक्षा दिएको उनको दाबी छ ।  ‘विदेशिने सपनामा रोगी बनेकालाई फिल्मका माध्यमले उपचार गर्दैछु,’ उनले ठट्टा गर्दै भनिन् । उनले यो फिल्ममा हिन्दी फिल्मबाट ल्याइएका ‘बासी मसला’ प्रयोग नभएकाले दर्शकको स्वास्थ्य पनि गडबड नहुने बताइन् ।

 

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>