डा.सरस्वती पाध्ये,
बरिष्ठ प्रसुतीरोग विशेषज्ञ
गर्भपतन भन्नाले नछुने भएको दिनबाट गणना गर्दा २८ हप्ताभन्दा पहिले गर्भमा भएका भू्रण, विकसित भ्रूण अथवा शिशुबाहिर निस्कने प्रक्रियालाई सम्झनुपर्छ । जुनसुकै गर्भावस्थाको दिन गणना गर्दा नछुने भएको पहिलो दिनबाट गणना गरिन्छ । यस दिनबाट २५० दिन वा ४० हप्ता वा ९ महिना ७ दिन पुगेपछि गर्भावस्था पूर्ण हुन्छ । पूर्ण गर्भावस्था भन्दा ३ हप्ताअघि नै जन्म भएको शिशुको पनि पूर्ण गर्भावस्थाकै शिशुसरह मानिन्छ । यस प्रकार जन्मेको शिशुको मृत्यु हुने कम सम्भावना हुन्छ ।
विकसित देशमा बचाउन सकिने प्रविधि हुनाले २८ हप्ताभन्दा अघिको १०० ग्राम तौलको शिशु बाहिरिएमा मात्रा गर्भपतन भनिन्छ । यसरी भएको गर्भपतन करिब २५ देखि ३० प्रतिशतसम्मको हुन्छ । यो वंशाणुगत केही विकृति रहेछ भने पनि हुनसक्दछ । क्रोमोजोमको विकृति भएमा पनि यस्तो हुनसक्छ । पाठेघरसम्बन्धी विकृति जस्तैः अति सानो पाठेघर हुनु आदि कारण पनि स्पोन्टानियस एबोर्सन हुनसक्छ । पाठेघरको मुख लुज हुनु, यसैगरी इन्फेक्सन जस्तैः सिफिलिस, टोक्सोल्पास्मा, साइटो मेगालो भाइरस, रुबेला, हर्पिस जस्ता रोगहरू आमालाई भएको छ भने पनि स्पोन्टानियस एबोर्सन हुने सम्भावना बढी हुन्छ । यसरी पटक ÷पटक गर्भपतन भइरहेमा कम्तीमा १ बर्ष गर्भधारण नगराउनु उचित हुन्छ ।
कुनै कुनै महिलामा श्रीमान्को वीर्य नफाप्ने हुन्छ र यस्तो भएमा पनि प्रकृतिले भ्रूण फ्याँक्ने गराउँछ । हर्मनको गडबडी जस्तैः डाइबिटिज थारुइराइड गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढंगले हर्मन निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ । १५–२० प्रतिशतको गर्भपतनमाथि उल्लेखित कुनै पनि कारणविना इडियोपाथिक हुनसक्तछ । सबै अनुसन्धान गर्दा पनि कारण नभेटिने हुनाले यस्तो गर्भपतनलाई इपियोपाथिक भनिने गरिन्छ ।
इन्डयुस्ड एबोर्सन
आमाको स्वास्थ्यमा गर्भले घातक असर पर्न सक्ने देखिएमा एकजना फिजिसियन र एकजना गाइनिकोलजिस्टको सल्लाहमा गर्भपतन गराउने पद्धतिलाई ‘मेडिकल टर्मिनेसन अफ प्रिग्नेसी’ हुन्छ । यस्तै कुनै प्रकारले गर्भपतनका लागि स्वास्थ्यकर्मी अरु (सुुडिनी, धाई वा अन्य) कसैले केहि पदार्थ, औषधि आदि प्रयोग गरी अनायास गर्भपतन गराउने प्रयासलाई इल्लिगल एबोर्सन वा क्रिमिनल एबोर्सन भनिन्छ ।
यस्तो प्रक्रियाबाट आमाको मृत्युसमेत हुने सम्भावना भएको हुँदा क्रिमिनल एबोर्सन भनिएको हो । बीस प्रतिशत आमाको मृत्यु यस कारणले भएको पाइएको छ । मृत्यु हुनाको कारण इन्फेक्सन, रक्तस्राव, मिगौलाले काम नगर्नु, सेप्टिक हुनु आदि हुन् । प्रायः निर्मलीकरण नगरिएका औजार प्रयोग गर्नाले आमालाई बिषम ज्वरो हुने र त्यसबाट भ्रूणको मृत्युसमेत भई गर्भपतन हुने, यस्तो किसिमको वस्तुको प्रयोगले शरीरको पूरै भागमा इन्फेक्सन भई सेप्टिक हुने र मृगौला फेल खाएर आमाको मृत्यु हुन्छ । यस्तो वस्तु औषधिमा गोबर, सिन्दुर र काँचका धुलो हालेर मुसाको लिँडजस्तो पारी घाममा सुकाई यो पदार्थलाई पाठेघरको मुखमा राख्ने, रबरको नलीबाट ग्सिसिरन र एक्रिल्फोविनको झोल पाठेघरको मुखबाट सिरिन्जको सहायताले पाठेघरको भित्र पठाई रबरको नली त्यहीँ छाडिदिने, झारपातको मिश्रणबाट लेदो बनाएर योनीभित्र राख्ने, कुचोको डाँठ पाठेघर भित्र पसाउने, पछिल्ला दिनमा परिवार नियोजनको साधन आएपछि आईयूसीडीलाई गर्भ रहेको बखत पाठेघरमा घुसाइदिने आदि केसहरु लेखिकाले चिकित्सकीय अभ्यासका क्रममा भेटिएका छन् ।
यो इन्डयुस्ड एबोर्सन किन गराइयो त भनी बुझ्दा बच्चा धेरै भयो, पाल्न सकिँदैन आदि जवाफ पाइन्थ्यो । यस्तै, अनुसार मेन्स्टुअल रेगरलेसन भनी ६–७ हप्तामा गर्भपतन गराइएको पनि गर्भपतनले कानुनी मान्यता नभएका देशहरुमा पाइन्छ । यो प्रायः स्वास्थ्यकर्मीद्धारा निर्मलीकृत औजारबाट गराइने हुनाले सेप्सिस हुने कम सम्भावना हुन्छ ।
गर्भपातका किसिमहरु
थे्रटेन्ट एबोर्सन
– महिनावारी नाघेको
– रक्तस्राव हुन थालेको
– दुख्न थालेको
यस अवस्थामा गर्भपतन हुन धम्क्याइएको मानिन्छ । जाँच्दा गर्भाशयको मुख बन्द नै हुन्छ । यस अवस्थामा आराम गरेको खण्डमा गर्भले निरन्तरता लिन सक्छ । यो अल्ट्रासोनोग्राम गरेर थाहा पाइन्छ अथवा यो गर्भ हुर्किदै गरेको भए, नदुखेको भए वा रक्तस्राव कम हुँदै गएका गर्भले निरन्तरता पाएको भन्ने बुझिन्छ ।
इनएभिटेबल एबोर्सन
यसमा गर्भाशयको मुख खुल्न थालेमा, रक्तस्राव बढी हुन थालेमा, दुख्न थालेमा, अपरिहार्य गर्भपतन हुने सम्भावना भएको बुझिन्छ ।
इन्कम्प्लीट एबोर्सन
यस अवस्थामा गर्भपतन अधकल्चो भएको हुन्छ । भ्रूण अथवा सालको केही भाग बाहिर निस्कन र केही भाग पाठेघरभित्रै रहने हुनाले बढी रक्तस्राव हुने, दुख्ने आदि हुनसक्छ । यस अवस्थामा बेलैमा उपचार नभएमा सेप्टिस भई र बढी रक्तस्रावले गर्दा मृत्युसमेत हुने डर हुन्छ ।
कम्प्लीट एबोर्सन
भ्रूण, सालनाल सबै पूरा निस्केको अवस्थालाई कम्प्लिट एबोर्सन भनिन्छ । यसबेला बेथा लागेजस्तै गरि दुख्छ र सम्पूर्ण भ्रूण तथा सालनाल बाहिरिन्छ र दुखाई तथा रक्तस्राव कम हुँदै जान्छ ।
सेप्टिक एबोर्सन
माथि उल्लेखित कुनै पनि अवस्थामा कुनै पनि कारणले इन्फेक्सन भएमा ज्वरो आउने र तल्लो पेट बढी दुख्ने आदि पनि थपिन्छ । यस्तो नहोस् भनी पहिले नै एन्टिबायोटिक दिनुपर्ने हुन्छ र मृगौलाको अवस्था हेर्न रगत, पिसाब आदि जाँच गराउनुपर्छ ।
ह्याबिच्युवल एबोर्सन
कुनै पनि कारणले कुनै पनि गर्भपतन दुई वा दुईभन्दा बढीपटक भएमा यस्तो अवस्थालाई ह्याबिच्युवल एबोर्सन (गर्भपतन हुने बानी बसिसकेको) भनिन्छ । यसको उपचार गर्न गाह्रो हुन्छ ।
मिस्ड् एबोर्सन
मिस्ड्एबोर्सन भन्नाले जुनसुकै बेला भ्रूणको विकासनभई विनाश भएर (याने मृत भ्रूण या शिशुको पाठेघरभित्रै) मृत्यु भएमा मिस्ड् एबोर्सन भनिन्छ । यस्तो अवस्था अल्ट्रासाउन्ड गर्दा थाहा हुन्छ । अथवा आमाले बच्चा नचलेको भनी प्रस्तुत गरेमा वा केही हल्का रक्तस्राव भएर त्यस्तै टरेर जानसक्छ । यस्तो अवस्थामा पाठेघरको साइज हेरी उपयुक्त उपचार गर्नुपर्ने हुन्छ ।
नेपाल सरकारले सुरक्षित गर्भपतन गराउन सरकारी अस्पताल तथा केही प्राइभेट क्लिनिकहरु समेतमा पाइने भएकोले गर्भाधारण भएपछि बच्चा पाउने वा नपाउने अधिकार केबल महिलामा नै निहित अधिकार भएकोले यदि चाहिने गर्भ भएमा आफूलाई खुशीसुखी राखेर गर्भावस्था अघि बढाउनुपर्छ । हैन भने सुरक्षित गर्भपतन सेन्टरमा गई सुरक्षित तरिकाले १२ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ तर त्यसपछि भरपर्दो परिवार नियोजनको साधन अपनाउनुपर्दछ ।
- स्वास्थ्य खबरपत्रिका, २०६८ फागुन अंक