बिरामीको सेवा नै जसको मुल ध्येय हो
navaraj

नवराज थापा, वीर अस्पताल
- स्वास्थ्य खबरपत्रिका /

अपाङ्ग मानिसलाई काम दिन भनेपछि अधिकांश मानिस नाक खुम्च्याउँछन् । किन त्यसो गरेको भन्ने प्रश्न गर्दा उनीहरूको उत्तर हुने गर्छः शारीरिक रुपमा कमजोर भएपछि के काम गर्लान् र ?
यस्ता चिन्तन बोक्नेहरुका लागि वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत नवराज थापा गतिलो जवाफ हुन् । उनी अपाङ्ग भएपनि यति कुसल कार्यक्षमता दर्शाएका छन् की, बिदा लिएर बस्ने भन्ने कुरा उनको शब्दकोष मै छैन । थापालाई त हालसम्म सरकारले के–के दिन बिदाको सुविधा दिएको छ भन्ने पनि थाहा छैन र उनी त्यो जान्न पनि चाहँदैनन् । पोलियोले बाल्यकालमै दुवै खुट्टा अपाङ्ग बनाएका नवराज आमाबुवाको क्रियाकर्मगर्न वाहेक एकदिन पनि बिदा लिएका छैनन् । बिदा नलीएर निरन्तर स्वास्थ्य सेवा गर्ने वीर अस्पतालका एक्ला कर्मचारीमा पर्छन् उनी ।
पोलियोका कारण आफूले अपाङ्गता भोग्नु परेपनि यसकै कारण अरुको सेवामा बाधा नपरोस् भन्ने उनको प्रमुख ध्येय हो । त्यही संवेदनशीलताले गर्दा उनलाई अहिले कामको लतै लागेको छ भन्दा पनि हुन्छ । वि. सं २०४१ सालमा वीर अस्पतालमा प्रवेश गरेका उनीे २०४३ सालदेखी वीर अस्पतालकै आकस्मिक उपचार कक्षमा इसिजी टेक्निसियानका रुपमा निरन्तर सेवारत छन् । शुरुमा पाचाँै तहमा प्रवेश गरेका थापा अहिले सातौँ तहका भए । वि.सं. ०५२ सालमा अस्पतालमा स्थायी पनि भए ।
‘पोलियोले आपाङ्ग बनाएपनि सानैदेखि बिरामीको सेवा गर्ने इच्छा थियो’ उनले भने,  ‘आफुले त उपचार नपाएर दुःख पाइयो, आफुले गर्न सक्नेसम्म सेवा दिएर अरूले दुःख नपाउन् भन्ने ठान्छु ।’ सरकारले सेवामा रहेका कर्मचारीलाई सार्वजनिक विदा, पर्व विदा, घर बिदा, क्याजुअल बिदा लगायतका बिदाको सुविधा दिने गरेको छ तर थापलाई ती कुनैपनि बिदाको बारेमा मतलव छैन । उनले दशैं तिहारजस्तो हिन्दुहरुको ठुलो चाडमा समेत बिदा नलिई बिरामीहरुको निरन्तर सेवा गरिरहेका छन् । लगातार १८ वर्ष रात्रीकालिन समयको ड्युटी गरे ।
काभ्रेपलाञ्चोक जिल्लाको होक्से चिसापानीमा २०१३ सालमा जन्मिएका थापालाई ६ वर्षको उमेरमा नै पोलियोले दुवै खुट्टा नचल्ने अवस्थामा पु¥यायो । काभ्रेकै पनौतीमा रहेको मामाघरमा बसी इन्द्रेश्वर माविबाट उनले एसएलसी उत्तिर्ण गरे । मामाघरबाट विद्यालय टाढा भएकाले बिहान सात बजे नै घस्रदै विद्यालय हिड्थे । उनलाई विद्यालय पुग्न तिन घण्टा लाग्थ्यो । घर फर्किन पनि उस्तै सास्ती थियो । दैनिक ६ घण्टा घस्रदै विद्यालय आउजाउमा बित्थ्यो । वर्षातको समयमा उनलाई साह्रै समस्या पथ्र्यो रे । वर्षातको चिप्लो माटोमा लड्दै विद्यालय पुग्थे । बाटोमा साथीहरुले किताब बोकिदिन्थे । यी सबै कष्ठ सहेर पनि पढाईलाई निरन्तरता दिइछाडे । मिलनसार स्वाभाव भएकोले पनि होला घरपरिवार, शिक्षक शिक्षिका र साथीहरूसँग पनि उनको सम्बन्ध कहिल्यै नराम्रो भएन । सबैबाट माया र सद्भाव नै पाए ।
पोलियोले खुट्टा चलाउन नसक्ने भएको अघिल्लो दिन उनले दिनभर खोपी (गाउँको एकप्रकारको खेल) खेलेर बिताएका थिए । सो दिन धेरै दौडधुप पनि गरेका थिए । त्यसपछि उनको जीवनमा त्यसरी दौडिने दिन कहिल्यै आएन । राती एक्कासी केही कुराले झसङ्ग बनायो । बिहान उठ्दा शरीर नै नचल्ने भएछ । बेलुका सुतेको उनलाई राति एक्कासी केलेहो झसङ्ग बनाएको थियो रे । बिहान उठ्दा त उनको शरीर नै चल्न नसक्ने भएको रहेछ । टाउको पनि बटारिएको थियो रे ।
घरमा रूवाबास नै भयो । ‘सबैले धामिझाँक्रि बोलाउनु भने’ उनी सम्झन्छन् ‘कुखुरा बोका सबै चढाए तर पनि निको भएन ।’ त्यतिबेला गाँउमा पोलियो भन्ने नै थाहा थिएन । गाउँलेको सल्लाहमा परिवारले पनि हावा लागेको भनेर झारफुकमा नै जोड दियो । गाउँमा निको नभएपछि धेरैदिनपछि मात्र उपचारका लागि काठमाडौँ ल्याइयो । काठमाडौँमा उनको डा. अन्जनीकुमार शर्माले खुट्टाको शल्यक्रिया गरेका थिए । तर पोलियोले गाँजीसकेकाले शल्यक्रियाबाट समेत उनको रोग निको भएन ।
काठमाडौँमा पनि उपचारसँगै गुवाजु कहाँ फुक्न लैजान्थे परिवारले । ग्ुवाजुले फुकेपछि केही आराम भएको उनको अनुभव छ । अस्पतालको उपचारपछि उनी पुनः पनौती मामाघर गए र पढ्न थाले । २०३४ सालमा एसएलसी दोस्रो श्रेणीमा उत्तिर्ण गरे । विद्यालय र गाउँमा कसैले पनि उनलाई अपाङ्ग भनेर हेपेको उनलाई याद छैन । एसएलसीपछि काठमाडौँ छिरेर प्राइभेट परीक्षा दिएर उनले आईए पनि उत्तिर्ण गरे ।
वि.सं. २०४१ मा डा. मृगेन्द्रराज पाण्डेले वीर अस्पतालमा आइसियु खोलेपछि अस्पतालमा कर्मचारी मागको विज्ञापन भयो । सोही विज्ञापनका आधारमा उनले पनि वीर अस्पतालमा आवेदन दिए र जागिर पनि पाए । अस्पतालमा नयाँ स्थापना भएको कार्डियो युनिटमा उनले इसिजिसम्बन्धी ९ महिने तालिम लिएर सेवा सुरु गरे । त्यो समयमा इसिजि सेवा वीर अस्पतालमा मात्र थियो । बिशिष्ठ व्यक्तिदेखि सर्वसाधारणसम्मको एक्लो विकल्प थियो वीर अस्पताल ।  तत्कालिन समयका प्रधानमन्त्री मरिचमान श्रेष्ठको पनि उनले इसिजी गरे । २०४५ सालतिर भएको रंगशाला काण्डमा अस्पतालको आकस्मिक कक्षमा जम्मा तीन जना मात्रै स्वास्थ्यकर्मी कार्यरत थिए । त्यो समयमा उनले घस्रँदै भएपनि बिरामीलाई आकस्मिक उपचार दिए । इसिजी गर्नुपर्ने काम भएपनि उनले चोटपटक लागेकाको सामान्य उपचार पनि गरे । ४७ जनाको मृत्यु भएको सो घटनामा अस्पतालमा झण्डै दुई सयको हाराहारीमा एकैपटक बिरामी आएका थिए रे ।
०४५ सालकै भुकम्पमा पनि उनले थुप्रैको उपचारमा सहयोग गरे । अस्पतालमा ६/७ सय बिरामी आएका थिए । इसिजीको काम मात्र नगरी उनले ब्यान्डेज गर्ने, घाउ सफा गरिदिने जस्ता सेवामा सघाए । ०४६ अनि ६२/६३ को जनआन्दोलनमा पनि उनले जनआन्दोलनका घाइतेको उपचारमा फरक प्रकृतिका काम गरेर सघाए । यस्ता राजनीतिक परिवर्तनका आन्दोलनमै जान मन भएपनि शारीरिक अवस्थाले साथ नदिएपछि उनले उपचारबाटै भएपनि आन्दोलनलाई सफल बनाउन सघाए ।
जागिरे जीवनको यात्रामा उनले वीर अस्पतालमा १५ भन्दा बढी निर्देशकको अनुभव भोगिसकेका छन् । अस्पतालको सेवा खस्किदै गएको कुराले भने उनलाई साह्ै नमिठो लाग्छ । ‘पहिलाको सेवाको तुलनामा अहिलेको सेवामा बिस्तारै ह्रास हुँदै आएको छ’ उनले भने ‘पहिला अस्पतालमा राजनीति हुँदैन थियो, अहिले राजनीतिक कारणले सेवा भद्रगोल भएको छ ।’ इर्मजेन्सीमा एक जना मात्र डाक्टर हुँदा पनि स्तरीय सेवा हुने अस्पतालका अहिले ४÷५ जना हुँदा पनि अनेक बहानावाजी गर्नेको संख्या बढ्दैछ ।
अस्पतालका पूर्व निर्देशकहरू मध्ये डा. इन्द्रबहादुर खत्री र डा. ताराबहादुर खत्रीको काम गर्ने तरिकाले उनी निकै प्रभावित छन् । इन्द्रबहादुरले आफ्नो कार्यकालमा ओपिडी भवन र प्रशासनीक व्यवस्थापन निकै राम्रो बनाए । न्याम्स बनाउन पनि उनको ठूलो भूमिका रहेको थापाले बताए ।
डा. ताराबहादुरले व्यवस्थापन र प्रशासनीक सुधारसँगै रेडियोथेरापी युनिटको स्थापना गरेर नयाँ क्याबिन निर्माण गरे । लगभगभ १५ जना निर्देशक भोगेका उनी हालका निर्देशक बुलन्द थापाले पनि अस्पतालमा सुधार गर्न खोजेको बताउँछन् । तर, डा.थापा आफुमा राम्रो भएपनि सल्लाहकारका कारण राम्रो काम गर्न नसकेको उनको भनाई छ ।
यसबीचमा डेढ लाख भन्दा बढी मानिसको इसिजी गर्दा उनले धेरै मिठा नमिठा अनुभव सँगालेका छन् । इसिजीको पहिलो प्रिन्ट हेर्ने अनुभवले गर्दा बिरामीको अवस्था तत्काल भन्न सक्छन् उनी । इसिजी डाक्टरले हेर्ने भएपनि उनले भनेपछि डाक्टरले पनि विश्वास गर्ने गर्छन् ।
कोटेश्वरमा दुर्घटनामा परेको बच्चाक मरिसकेको थियो । तर बिरामीका आफन्तले उनलाई इसिजी नगरेको भन्दै हातपात गरे । यही घटनाका कारण अस्पतालमा तीन दिनसम्म आकस्मिक सेवा समेत बन्द भयो । गृहमन्त्री शेरबहादुर देउवा ठाडो आदेशमा आठ जना सुरक्षाकर्मी अस्पतालमा पठाएपछि घटना साम्य भयो । त्यसपछी वीर अस्पतालमा सुरक्षाकर्मी बस्ने कामले नीरन्तरता पायो । वीर अस्पताललाई नवराज थापा जस्ता कर्मठ कर्मचारिको खाँचो छ ।
- स्वास्थ्य खबरपत्रिका, २०६९ बैशाख अंक

 

3 Responses so far.


  1. Dr. Sankalpa says:

    Yes. He is really adorable person in Bir Hospital… if everyone will work like him Bir hospital will be the Model hospital of South Asia but ironically due to political interference it hindered hospital development

  2. Leo Brantz says:

    I like this web blog very much so much superb information.

  3. Pablo Lamson says:

    Thank you for another excellent post. Where else could anybody get that type of info in such an ideal way of writing? I have a presentation next week, and I’m on the look for such information.

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>