डा.अर्जुन कार्की
नेपालको स्वास्थ्य अवस्थाबारे तपाईको विश्लेषण के छ ?
स्वास्थ्यको अवस्थालाई सापेक्षिक रूपमा मात्रै विश्लेषण गर्न सकिन्छ । ऐतिहासिक रूपमा हेर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अल्माआटा घोषणाले सन् १९७५ तिर विकासोन्मुख देशहरूलाई लक्षित गरी सबैका लागि स्वास्थ्यको अवधारणा ल्यायो । नेपालमा ५० वर्ष भन्दा अगाडि र अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रको प्रगतिलाई हेर्ने हो भने गर्व गर्नुपर्ने अवस्था छ । नेपालको सन्दर्भमा २०३४ सालसम्म त चिकित्सक उत्पादन नै हँुदैन थिए । नेपालीले भारत, चीन, बङ्गलादेश, सोभियत संघलगायतका मुलुकमा छात्रवृत्ति पाए मात्रै चिकित्साशास्त्र अध्ययन गर्न पाउने अवस्था थियो ।
तर नेपालमा अहिले प्रत्येक वर्ष चिकित्सकीय जनशक्ति मात्रै २ हजारको हाराहारी थपिन्छन् । अहिले सरकारी र निजी तर्फ धेरै राम्रा चिकित्साशास्त्र अध्ययन संस्थान र अस्पतालहरु खुलेका छन् । आँखाको सेवामा नेपालले अन्तराष्ट्रिय रुपमा ख्याति कमाएको छ । नेपालकै केही स्वास्थ्य संस्थाले अन्तराष्ट्रिय स्तरका प्रविधि भित्राएका छन् । प्राथमिक स्वास्थ्यलाई राज्यले निःशुल्क बनाउने दिशामा अग्रसरता देखाउदै करिब ४० थरी औषधि र केही सेवा निःशुल्क गरेको छ । विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले विश्वलाई पनि केही दिन शुरू गरीसकेको छ । नेपालमा अन्य क्षेत्रको तुलनामा स्वास्थ्य क्षेत्रको प्रगति धेरै उल्लेखनीय छ ।
स्वास्थ्य जनशक्तिको अवस्था कस्तो पाउनु भएको छ ?
डब्लुएचओले विश्वका ५७ राष्ट्रलाई स्वास्थ्य जनशक्ति संकटग्रस्त राष्ट्र भनि घोषणा गरेको छ । यसमा नेपाल पनि पर्छ । संगठनले प्रतिहजार जनसंख्याको अनुपातमा एक÷एक जना चिकित्सक, नर्स र मिडवाइफ हुनुपर्छ भन्ने मापदण्ड बनाएको छ । तर, सरकारी सेवामा रहेका दरबन्दीलाई आधार बनाउने हो भने त झण्डै २७ हजार जनसंख्या बराबर एक चिकित्सक पर्न आउँछन् । अरु जनशक्तिको अनुपात समेत सन्तोषप्रद छैन ।
विश्व परिवेशमै ग्रामीण भेगमा स्वास्थ्यकर्मीको अभाव छ । विश्वका आधा जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्छन् भने आधा ग्रामिण भेगमा । विश्वव्यापी रुपमा ३९ प्रतिशत नर्सहरु ग्रामिण भेगमा कार्यरत छन् भने ६१ प्रतिशत मात्र शहरी क्षेत्रमा छन्, त्यस्तै ७६ प्रतिशत चिकित्सक शहरी क्षेत्रमा र २४ प्रतिशत चिकित्सक मात्र ग्रामिण भेगमा कार्यरत रहेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । विश्वव्यापी रुपमै स्वास्थ्यकर्मी शहर केन्द्रित भएको देखिन्छ । नेपालको स्वास्थ्य जनशक्ति त झनै शहर केन्द्रीत छ ।
दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुमा स्वास्थ्य जनशक्तिको कस्तो अवस्था छ त ?
दक्षिणपूर्वी एसिया क्षेत्रमा देशहरूभन्दा थाइल्यान्डमा स्वास्थ्य जनशक्तिको अवस्था राम्रो छ । त्यसपछि भारतमा पनि राम्रो अवस्था छ । माल्दिभ्स् र इस्टटिमोरजस्ता केही राष्ट्रमा त मेडिकल कलेज नै छैनन् । थाईहरू दूरदर्शी हुनु र अमेरिकी प्रभावले पनि अवस्था धेरै सुध्रिएको हो । अन्य देशहरूमा त संकट नै छ ।
संख्याबाहेक नेपालमा स्वास्थ्य जनशक्तिसम्बन्धी अन्य केही समस्या पनि छन् की ?
नेपालमा मिश्रित जनशक्ति पनि छैनन् । जनशक्ति थोरै हुनु त पहिलो र प्रमुख समस्या नै भयो । भएका मान्छेहरू पनि बढी मात्रामा शहर केन्द्रीत छन् । भएका जनशक्तिले पनि मन लगाएर पूरै समय काम गर्ने अवस्था पनि कम पाइएको छ । अझै भन्ने हो भने त, कुनै विधामा जनशक्ति धेरै छ भने कुनैमा अत्यन्तै न्युन छ । सही जनशक्ति सही ठाँउमा नहुँदा पनि जाँगर लगाएर काम गर्ने प्रवृति कम भएको हुनसक्छ । जनशक्तिको गुणस्तर पनि कम छ भने जागिरे मानसिकताका बढी छन् । भएका थोरै जनशक्तिबाट अधिकत्तम सेवा लिन नसकेको अवस्था अहिलेको वास्तविकता हो ।
किन यस्तो भइरहेको छ त ?
जनशक्ति बढाउने मात्रै होइन त्यसबाट काम लिने पनि प्रणालीले नै हो । जनशक्तिका लागि सरकारी प्रणालीले सुविधा र व्यवहारिक सन्तुलन मिलाउन सक्नुपर्छ । जनशक्तिको समस्या भित्र धेरै तत्वहरु मिलेका हुन्छन् । प्रमुख कुरा कर्मचारीले फिल्डमा सेवा दिएको छ कि छैन अनुगमनसँगै उसलाई महत्व पनि दिनुपर्छ । कम्तिमा हप्ता महिनामा एक पटक आफूभन्दा माथिल्लो निकायको अधिकारीले टेलिफोनमै भएपनि के–कस्ता समस्या छन् भनेर सोधिखोजी गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गरे उसको उत्साह दोब्बर हुन्छ । राम्रोसँग काम गरे भने केहीकुराको अवसर पाउँछु भन्ने वातावरण बन्नसके हौसला बढ्छ । कसैले मतलब पनि नगर्ने र स्वास्थ्यकर्मीले मनपरी गर्ने वातावरण बन्यो भने उ किन गाउँमा बस्छ र ? जो दुर्गममा बसेर सेवा गर्छ वा जसको राजनीतिक सम्बन्ध हुँदैन, उ सधै पछाडि परिरहेको सुनिन्छ । नेता चिनेपछि शहर पनि बस्न पाइने, पढ्न पनि पाइने र सरुवा पनि हँुदैन, अनि मान्छे किन गाउँ जान खोज्छ ? जनशक्तिको सही मूल्यांकन र तिनका कुरा नसुने सम्म यस्ता समस्या कायमै रहन्छन् । स्वास्थ्यकर्मीको मूल्यांकन गर्दा स्थानीय जनताको सन्तुष्टिलाई पनि आधार बनाउनु पर्छ । त्यसैले प्रणालीमै सुधार गरेपछि मात्रै सबै कुरा सुध्रिन्छ ।
आमुल परिवर्तन त स्वास्थ्य जनशक्तिको सन्दर्भमा पो जरूरी रहेछ त ?
अहिले नेपाल नयाँ संरचनाका लागि अगाडि बढेकाले पनि जनशक्तिको कुरा ओझेलमा परेको हो । यो मुलुकको सबैभन्दा ठूलो दुर्भाग्य हो । मिडियामा पनि राजनीतिक सनसनीले ठाउँ पाउछ । राज्य सञ्चालनको निकायमा बस्नेहरूले पनि निःशुल्क औषधि, राम्रा उपकरण र सुन्दर भवन बनाएर मात्रै स्वास्थ्य सेवा प्रभावकारी हुने हैन भन्ने बुझ्नु जरूरी छ । मानिस बिरामी भएको छ, उसलाई यो औषधि चाहिन्छ भनेर आफैं पेटमा गएर त बस्दैन । कुन अवस्थामा के परीक्षण गर्ने र कुन औषधि दिने भन्नका लागि त जनशक्ति चाहियो नि ! स्वास्थ्य सेवा दिनका लागि नेताको भनसुनमा भन्दा पनि दक्ष र क्षमतावान जनशक्ति चाहिन्छ ।
भनेपछि, स्वास्थ्य जनशक्ति त निकै संवेदनशील भएर उत्पादन र परिचालन गर्नुपर्ने रहेछ हैन त ?
स्वास्थ्य जनशक्तिको विषय नीतिगत रूपमा समस्याको पहिचान भएपनि व्यवहारमा उतार्न कठिन भएको छ । आदर्शमय स्वास्थ्य जनशक्ति तयार पार्ने कुरा सोचे जस्तो सजिलो छैन । समाजले डाक्टर उत्पादन गर्न ठूलो लगानी गरेको छ । सरकारी तवरबाट डाक्टर बन्नु भनेको त कर तिरेको पैसाको सोझो लगानी हो । यस हिसाबले यो जनताकै लगानी हो । समाजले पिडा सहेरै भएपनि डाक्टर तयार गर्नका लागि प्रयोगात्मक अभ्यासमा रहेका चिकित्सकलाई सिक्ने अवसर दिएका छन् । तर, मोटो शुल्क तिरेर पढेको भन्दै अहंकार देखिन्छ । त्यसैले मानवीय संवेदनशिलता, विवेकी र सेवाको भावना भएका स्वास्थ्यकर्मीको उत्पादन अबको प्रमुख लक्ष्य हुनुपर्छ । उत्पादन भइसकेका जनशक्तिमा पनि सेवाको भावना विकास हुनुपर्छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको लक्ष्य यस्तै जनशक्ति उत्पादनलाई प्राथमिकता दिने हो त ?
हो । हामी दक्ष, भद्र र सेवामुखी भावना भएका जनशक्ति उत्पादनमा जोड दिइरहेका छौं । २०६४ साल माघ २३ गते स्थापना भएर ०६६ सालदेखि विद्यार्थी भर्ना सुरू गरेको यस प्रतिष्ठानका आफ्नै विशेषता छन् । ‘तिमी पैसा खर्च गरेर डाक्टर बन्न सक्दैनौ भने हामी बनाइदिन्छौं, तर तिमी असल डाक्टर बनी गाउँमा गएर सेवा गर्नुपर्छ,’ भन्ने हाम्रो पहिलो शर्त हुन्छ । प्रतिष्ठानले यस्ता ६० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाएको छ । हरेक विद्यार्थीलाई समुदायमा घुलमिल भएर उनीहरूको सेवा गर्दै पढ्न सिकाइन्छ । प्रत्येक ६ महिनामा दुई हप्ता गाउँमा जानुपर्छ । अहिले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको प्रमुख समस्या भनेको उनीहरुमध्ये धेरैले ग्रामीण क्षेत्रको वास्तविकता बुझेका छैनन् । त्यसैले गाउँ जानबाट भाग्न खोज्ने हो । हामी यो कुरालाई तोड्न चाहिरहेका छौं । अहंकारी डाक्टर र स्वास्थ्यकर्मी गाउँमा गएपनि जनताका लागि केही गर्न सक्दैनन् ।
ठोस रूपमा भन्नुपर्दा सरकारले स्वास्थ्य जनशक्तिको क्षेत्रमा सुधार गर्ननसक्नुको मुल कारण के हो त ?
पहिलो राजनीतिक इच्छाशक्तिको कमी हो । स्वास्थ्य अधिकारीले बजेटको निर्णायक हुने ठाउँमा जनशक्तिको आवश्यकता महसुस गराउन नसकेर पो यस्तो अवस्था आएको हो कि भनेर सोच्ने बेला भएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले जनशक्तिका लागि नीति नै पास गर्ने उद्देश्य लिएको छ । जनताको लागि अत्यावश्यक कुरामा बहाना गर्नु हँुदैन । गाउँ र शहरको स्वास्थ्य सेवा हेर्ने हो भने विभेदपूर्ण स्थितीमा छ । गाउँमा दरबन्दी छ, कागजमा हाजिर पनि छ तर कुर्सीमा डाक्टर छैन । यसमा स्वास्थ्य प्रणाली जिम्मेवार देखिन्छ । पुगेका स्वास्थ्यकर्मीले पनि इमान्दारीपूर्वक काम गर्न सकेका छैनन् । जथाभावी सरूवा, बढुवा लगायतका कुराले स्वास्थ्यकर्मीको मनोबल गिरेको देखिन्छ । स्वास्थ्यमा लगानीको अवस्था पनि उपयूक्त हुन सकेको छैन । स्वास्थ्य सेवामा गुणस्तरीयतामा जाने र आत्मनिर्भर हुनखोज्ने हो भने लगानी बढाई लक्ष्य प्राप्त गर्न प्रयत्नशील हुनुपर्छ । स्वास्थ्यकर्मीलाई सम्मानसहित काम गर्ने वातावरणको सृजना गर्नुपर्छ । चिकित्सकको मुल्यमान्यता बुझिदिनु पर्छ ।
स्वास्थ्यकर्मी असल र इमान्दार भएर काम नगर्दा सम्म जनशक्ति थप्दैमा सुधार होला भनेर सरकार आश्वस्त नभएको हो कि ?
निजी स्वार्थ भएका चिकित्सक छैनन् म भन्दिन । यो समाजिक अवस्थाको उपज पनि हो । नेपाली समाजमा जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मान्यताले प्रधानता पाएको देखिन्छ । पैसा भएको मान्छे ठूलो, पैसा कमाउन सक्ने सफल भन्ने मान्यता छ । स्वास्थ्यकर्मी पनि यही समाजका सदस्य भएकोले होला उनीहरु पनि यो विचारबाट अछुतो रहन सकेनन् । राष्ट्रले नै राम्रो काम गर्ने र पैसामुखी नहुने वातावरण बनाइदिन सक्नुपर्छ । नेपालका चिकित्सक बिदेशिने समस्या पनि छ । यसबाट विदेशीले नेपालका तालिम प्राप्त जनशक्तिलाई निःशुल्क उपभोग गरिरहेका छन् । अधिकांश चिकित्सक शहर बस्न खोज्ने र सरकारी सेवामा कम समय दिई निजीमा जाने गर्छन् । बिरामीमा पनि निजी अस्पतालमा गए इज्जत बढ्छ भन्ने धारणा छ । नेता पनि बिरामी हुँदा पहिला निजी अस्पतालमै पुग्छन् । यसले पनि जनतालाई निजी अस्पतालमा जान प्रेरित गरेको छ ।
स्वास्थ्य क्षेत्रमा जनशक्तिको समस्याबारे मात्रै चर्चा हुन्छ । नेपालमा उत्पादन भइरहेका जनशक्तिको गुणस्तरलाई लिएर पनि चिन्ता गर्नुपर्ने अवस्था छैन र ?
अहिलेको अवस्थामा चिकित्सकको गुणस्तर बीस वर्ष अघिको जस्तो नभएको हो कि भन्ने बहस राम्रैसँग उठेको छ । विदेशका निजी कलेजमा आफ्नै खर्चमा पढेर आएका जनशक्तिको अवस्था कमजोर भएको सुनिएको छ । नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ्ग परीक्षाको नतिजाले पनि त्यो कुराको पुष्टि गरेको छ । विदेशमा भाषाको अभावले बिरामीसँग अन्तत्र्रिmया गर्ने अवसर मिल्दैन । चिकित्साशास्त्रमा बिरामीसँग अन्तत्र्रिmया हुन नपाएपछि सिक्न सकिन्न । नर्सिङ र पारामेडिकल तर्फ सहायक स्तरका सिटिइभिटीबाट सम्बन्धन प्राप्त जनशक्तिको त हबिगत नै भएको सुनिन्छ । त्यस्ता सम्बन्धन दिने ठाउँमा बस्नेले पनि भोली म बिरामी हुँदा पनि यस्तै जनशक्तिको फेला परेँ भने के होला भन्ने तर्फ पनि विचार पु¥याउनु प¥यो नि !
यति धेरै निराशाजनक अवस्थमा स्वास्थ्य जनशक्तिको क्षेत्रमा के गर्न सकिन्छ त ?
निराशाजनक अवस्थालाई आशाजनक स्थितिमा बदल्न सक्नुपर्छ । कर्मचारीले आफ्नो जिम्मेवारी पूर्ण रूपमा बहन गर्न सक्नुपर्छ । आफैँमा केही गर्नुपर्छ भन्ने चेत नभई देशको विकास हुन सक्दैन । समाजका हरेक क्षेत्रमा विकृति देखापरेको छ । सबै कुरालाई यथावत् राखेर स्वास्थ्य क्षेत्रमा मात्र सधार गर्न सकिँदैन । तर यसो भन्दैमा पन्छेर पनि हिँड्नु हुँदैन । सक्नेले राम्रो काम गरौँ भनेर लागेमा सकारात्मक वातावरणको सृजना हुँदै जान्छ ।
अब तत्काल र दीर्घकालिन रुपमा ठोस योजना नै चाहिन्छ हैन त ?
हो, अहिले तत्कालका लागि पहिलो चरणमा हामी कति जनशक्ति थप्न सक्छौं र सबैभन्दा अत्यावश्यक कुन जनशक्ति हो भन्ने पहिचान गरेर अर्थ मन्त्रालयलाई कन्भिन्स गर्न सक्नुपर्छ । त्यो सँगै स्वास्थ्य क्षेत्र सुधारका लागि सर्वप्रथम उत्पादित जनशक्तिको गुणस्तर राम्रो हुनुपर्छ । जनशक्तिको भूमीका र जनशक्ति उत्पादन गर्ने संस्थाको समेत निरन्तर अनुगमन हुनुपर्छ । जनशक्तिलाई निरन्तर तालिमको अवसर र हौसला पनि दिनुपर्छ ।
- स्वास्थ्य खबरपत्रिका, २०६९ बैशाख