भनिन्छ डाक्टरहरु यान्त्रिक र व्यस्त हुन्छन् । साथै एकोहोरा पनि । तर त्यस्तो होइन । मानवीय हिसावले उनीहरु माया, ममता, स्नेह र पारिवारिक हार्दिकताबाट घेरिएका हुन्छन् । उनीहरुका पनि आफ्नै प्रकारका सुख–दुखका अनुभूति हुन्छन्, आफ्नै खालका सामाजिक र पारिवारिक जिम्मेवारी र दायित्व हुन्छन् । आफ्नो निजी जीवन र स्वभावका बारेमा यसपटक डा. सुशील कोइरालाले हामीसँग खुलेर कुराकानी गरे । बाँकी उनकै शव्दमा :
डाक्टरहरु अत्यन्तै व्यस्त हुन्छन् भन्ने सोचेर होला मेरा आफन्त र साथीभाइले पनि मलाई प्रश्न गर्छन् , ‘हैन तपाईंहरु कसरी समय व्यवस्थापन गर्नुहुन्छ ?’ जवाफमा म मसुक्क मुस्कुराउँछु । र, भन्छु , ‘समय व्यवस्थापन गर्नु पनि एउटा कला हो, यसबारे सचेत हुनै पर्छ ।’
मैले आफ्नो पढाइ सकेलगत्तै काम शुरु गर्दादेखि नै निश्चित रुटिन बनाएर काम गर्ने गरेको छु । चिकित्सकले घर परिवारलाई समय दिन सक्दैनन् भन्ने गुनासो नआओस् भन्नका लागि अनि काम पनि राम्रो र व्यवस्थित तरिकाले होस् भनेर मैले समय तालिका बनाएको हुँ । म जाडोमा विहान १० देखि ५ र गर्मी मौसममा विहान १० देखि ६ बजेसम्म क्लिनिकमा काम गर्छु । मैले योभन्दा बढी समय कहिले पनि काम गरेको छैन । पहिला–पहिला क्लिनिकमा दिउँसो बिरामी आउँदैनन् भन्ने धारणा थियो । यसै कारण धेरैको क्लिनिक समय साँझ ५ बजेपछि थियो । तर मैले बिहान देखि साँझसम्मको कार्यालय समयलाई क्लिनिकल समय बनाएँ । योभन्दा बाहिरको समय म परिवारलाई दिन्छु ।
छोराछोरीको उमेर ५ वर्षभन्दा माथि भएपछि उनीहरुले बाबुआमाको समय खोज्ने रहेछन् । विशेषगरी रातको ७ देखि ९ बजेसम्मको दुई घण्टा उनीहरु मेरो साथ चाहन्छन् । टेस्टट्युब प्रविधिबाट जन्मेका मेरा दुई छोराको उमेर अहिले आठ बर्षको छ । म उनीहरुको इच्छा अनुसार सधैं रातको दुई घण्टा उनीहरुसँगै हुन्छु । काम विशेषले बाहिर जाँदा त्यो समयमा उनीहरुले मलाई खुब ‘मिस’ गर्ने रहेछन् । कहिलेकाहिँ काम धेरै भएर घर ढिलो फर्कँदा उनीहरु सुतिसकेका हुन्छन्, त्यो समय मलाई साह्रै नरमाइलो लाग्छ ।

खासगरी बढ्दोे उमेरका बालबालिकाले जनजीवन, अध्ययन र समाजबारे अनेकखाले चासो र प्रश्न राख्छन् । जव उनीहरुलाई केही कुरा सोध्नु र वुझ्नुपर्ने भएको वेला अभिभावकको आवश्यकता महसुस हुन्छ । मेरा छोराहरु पनि बढ्दो उमेरका भएकाले अनेक प्रश्न गर्छन् । जसले जे भने पनि हाम्रा बच्चाहरु डिजिटल ग्याजेटमा भन्दा पनि आमाबुबासँग नै खेल्न र जिस्कन मन पराउने रहेछन् । कहिलेकाँहि म कम्प्युटरमा काम गरिरहेको समयमा मैले समय दिइनँ भने उनीहरु रिसाउँछन् र घुक्र्याउँछन् । परिवारभित्रको यो रमाइलोले जोसुकैलाई पनि हार्दिक बनाउँछ नै ।
बच्चासँग सँगै बस्नका लागि मैले बच्चा र मेरो पढ्ने कोठा एउटै बनाएको छु । बच्चाले मागेको कुरा म एकै पटकमा दिन्नँ । माग्ने वित्तिकै पाइन्छ भन्ने पर्छ भनेर नै मैले उनीहरुको माग चार–पाँच पटक आइपुगेपछि बल्ल सम्बोधन गर्ने गरेको छु । तर कुनैकुनै कुरा तत्कालै रेस्पोन्स गनुपर्र्ने प्रकारका पनि हुन्छन्, आश्यकता हेरेर ।
मेरी श्रीमती इन्जिनियरिङ कलेज पुल्चोकमा इलेक्ट्रिकल विभाग प्रमुख छिन् । उनी मेरो समय तालिका र कामप्रति खास गुनासो गर्दिनन् । हाम्रो लभ म्यारिज भएको हो । अस्कलमा आइएस्सी पढ्ने बेलामा मैले नै पहिला उनलाई प्रपोज गरेको हो । रमाइलो त के भयो भने उनको जवाफ आउन तीन वर्ष कुर्नु प¥यो । उनी मभन्दा एक व्याच जुनियर थिइन् । तीन वर्षसम्म एकतर्फी माया गरियो । हामी सिनियर ब्याच भएकाले जुनियर कक्षामा नयाँ केटी आए भने केटाहरु मिलेर हेर्ने चलन थियो । त्यहीक्रममा मैले उनलाई पहिलो पटक देखेको थिएँ । मेरो प्रस्ताव उनीसमक्ष पुगेपछि जवाफ नआउनुलाई पनि मैले ‘मौनम् स्वीकृति लक्षणम्’को रुपमा लिएको थिएँ ।

म डाक्टर नभएको भए सायद व्यवस्थापन वा कलातिर जान्थेँ । व्यवस्थापनमा मेरो राम्रै दखल छ जस्तो लाग्छ । अहिले सोच्छु, डाक्टरी पेशा नै ठीक छ । यो पेशामा जेन्युइन मान्छे लाग्नुपर्छ जस्तो लाग्छ । पैसाको लागि पेशा अँगाल्ने भन्दा पनि सेवाभावले यो पेशामा खट्न सकियो भने समाजका लागि पनि राम्रो हुन्छ । डाक्टरी पेशाको सबैभन्दा रमाइलो पक्ष भनेकै जनतासँगको सम्बन्धमा रहेछ । डेन्टल डाक्टर भएकाले होला बच्चादेखि बूढासम्मको उपचारमा संलग्न हुनुपर्छ । मैले एकै परिवारको नातिदेखि हजुरबासम्मको उपचार गरेको छु ।
एउटा असल डाक्टरले गतिलो र प्रक्रियागत ढंगमा ज्ञान र शिक्षा लिनुपर्छ । हाम्रालागि त बिरामीहरु पनि गुरु हुन् । उनीहरुका अनुभव, दुःख, दर्द र भनाइबाट हामी केही न केही सिकिरहेका हुन्छौं । त्यसैले असल डाक्टरले विरामीको खुसीलाई पनि मियोमा राखेर काम गर्छ । यो पेशालाई सही तरिकाले अपनाउने हो भने पैसा आफंै आउँछ , पैसाको पछाडि दगुरिरहनु पर्दैन ।
मैले शुरुदेखि नै निजी क्षेत्रमा प्राक्टिस गरेकोले मैले कहिल्यै पनि बिरामीसँग झर्केर र फन्केर व्यवहार गरिनँ । उनीहरुका पीडा र दर्दलाई राम्ररी सुन्नु र बुझ्नुपर्छ भन्ने मलाई लाग्यो । कहिल्यै पनि दिनमा ४०÷५० बिरामीभन्दा बढी जाँच्ने काम गरिनँ ।
मलाई कहिलेकाँहि आफूसँग समय नहुँदा साह्रै दिक्क लाग्छ । एक घण्टा पनि मोवाइल अफ गर्दा समस्याबाट भागेकोजस्तो लाग्छ । विदा लिँदा निकै अगाडि नै मिलाउनु पर्ने हुन्छ । आजको भोलि नै विदा लिएर हिँड्ने वातावरण हुँदैन । बिरामीलाई छाडेर जान पनि मिलेन नि ।
म घरमा बुझ्ने भएदेखि नै कान्छो छोरा डाक्टर र जेठो छोरा इन्जिनियर भन्दै हुर्काइयो । सानोमा बिरामी भएपछि चिकित्सकले बचाएकोले आमा मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो । मलाई उपचार गरेर फर्काएलगत्तै अब छोरालाई जसरी पनि डाक्टर बनाउनु पर्छ भन्ने उहाँले सोच्नुभएको रहेछ ।
मेरो घर काठमाडौंको नयाँबजारबाट मेरो ससुराली नजिकै छ । ससुरालका हामी चार जना ज्वाईंमध्ये म कान्छो हो । मलाई हुलमुलमा त्यति मजा लाग्दैन । ससुराली जाँदा पनि म सरप्राइज भिजिटमा जान्छु । मेरो माइलो साढु दाजु डा. ऋषिकुमार काफ्ले हुन् । ससुरालीले पनि मेरो पेशा र मप्रति खासै गुनासो गरेको सुनेको छैन । सायद छोरीले कम्प्लेन नगरेर पनि होला ।
मेरी श्रीमती म भन्दा इन्टेलिजेन्ट छिन् । उनी धेरै कुरामा आइडल बन्न खोज्छिन् । उनमा परिवारले चाहेको कुरा पु¥याउन सक्ने क्षमता छ । बुहारी भएकाले कार्यालयको समयपछि पनि घरमा उनी सबैलाई खुसी पार्ने काम गर्छिन् । हामी दुबै जना काममा जाने भएकाले घरमा सहयोगी पनि राखिएको छ, बच्चा हेर्नकालागि । कहिलेकाँहि बच्चालाई हामीले दिउँसो पनि समय दिन पाए हुन्थ्यो भन्ने लाग्छ । म विदेश जाँदा बच्चाहरुले धेरै मिस गर्ने भएकाले बिदेश कम जान थालेको छु ।
हो, डाक्टरको जीवनमा पनि पारिवारिक खुशीको अहम् भूमिका हुन्छ । म सोच्छु , मनोरञ्जन भनेको आफू मात्र नभएर सवै खुसी हुने कुरा हो । एकपटक बच्चाहरुलाई पोखरा ट्रेकिङ लिएर गएको थिएँ । उनीहरु यति खुसी भए कि, त्यो खुशीले मलाई समेत पगाल्यो । मलाई अत्यन्तै आनन्द आयो । त्यसैले पनि म प्राय फिल्म हलमा गएर कमै फिल्म हेर्छु, परिवारसँग बसेर । पछिल्लो पटक आमिर खानको ‘तलाश’ फिल्म सिटिसेन्टर गएर हेरेको थिएँ । कहिलेकाही म क्लिनिकका कर्मचारीलाई पनि लिएर क्लिनिक नै बन्द गरेर पनि फिल्म हेर्न जान्छु । मलाई धेरै नै मन परेको फिल्म ‘थ्रि इडियट्स’ हो ।
व्यक्तिगत स्वभावका कुरा गर्दा मेरा आफ्नै प्रकारका आनीबानी छन् । मेरा कारणले अरुलाई असर नहोस् भन्नेमा म सधैं सचेत रहन्छु । म ड्रिङ्क्स गर्दिनँ तर मेरा धेरै साथीहरू पिउँछन् । एकपटक मलाई मेरा साथीहरुले फिट्टु हुनेगरी पिलाए पनि मलाई त्यसको मात मन परेन । स्वाद पनि मन परेन र मात पनि मन परेन भने किन खाने भनेर मैले मदिराबाट टाढै रहने निर्णय गरेँ । तर साथीभाइले पिएको वातावरणको कुराकानी भने मन पर्छ । रमाइलो हुन्छ , त्यहाँ ।
मेरो अध्ययनप्रतिको रुची पुरानै हो । म कुनै न कुनै किताब पढी नै रहन्छु । प्रायः वायोग्राफी र व्यवस्थापनसँग सम्बन्धित किताब पढ्छु । मानिसले कसरी दुख गरेर सफलता हासिल गरेका छन् भन्ने पुस्तकमा मेरो बढी रुची छ । साथीको कुरा गर्ने हो भने मेरो अहिलेसम्म त्यस्तो कुनै बेस्टफ्रेन्ड छैन । मेरो बेस्टफ्रेन्ड भनेको नै मेरी श्रीमती नै हो । विधागत र क्षेत्रगत रुपमा धेरै राम्रा साथीहरू छन् तर बेस्ट नै भन्ने अहिलेसम्म छैन । साथीका विषयमा त्यस्तो उल्लेखनीय कुरा मसँग नभए पनि मेरा शत्रु प्रशस्त छन् । मेरो प्रगति र खुसी नचाहने वरिपरी नै हुन्छन् । उनीहरुलाई मेरो भन्नु केही छैन । म मेरो बाटो र दृष्टिकोणमा छर्लङ्ग छु ।
मेरो घरमा मेरी आमा धेरै नै परम्परागत हुनुहुन्छ । उहाँ निकै धार्मिक भएकाले घरमा हरेक चाडवाड तथा पर्वबारे मेरा छोराहरुलाई पनि जानकारी भैसक्यो । चाडवाडको प्रक्रिया मलाई त्यति मन पर्दैन । चाडवाडमा आफन्तलाई बोलाएर खुवाएर रमाइलो गर्ने गरिन्छ ।
मेरो भविष्यको योजना भनेको प्रवचनतिर जान्छु कि जस्तो लाग्छ । तर पहँेलो लुगा लगाएर होइन । हेल्थ एन्ड ह्याप्पिनेसका बारेमा प्रवचन दिँदै हिड्ने योजना बनाएको छु, हेरांै के हुन्छ । यसका साथै डेन्टल क्षेत्रको एड्भान्स तालिम केन्द्र खोलेर नेपाललाई डेन्टल क्षेत्रमा अब्बल बनाउने योजना पनि छ । नयाँ टेक्नोलोजी ल्याउन सकेर सेवा विस्तार गर्ने हो भने नेपालले डेन्टलबाट धेरै रकम आर्जन गर्न सक्छ । त्यो समय आएमा नेपालमा उपचारकालागि विदेशीहरु आउनेछन् ।
स्वभावकै कुरा गर्दा मलाई एकदम रीस उठ्छ । स्टाफले बिरामीलाई हेप्यो, समयमा आएन र नियम मिच्यो भने रीस उठ्छ । यो बाहेक अन्य कारणले रीस उठ्दैन । घरेलु रीस त हुँदैन । घरमा मेरो नियम र प्रोटोकलभन्दा पनि आमा–बुबाको नै नियम र प्रोटोकल हावी छ । म पनि त्यसैमा खुसी छु ।
जीवनको सार्थकता भनेको नै खुसी हुनु हो । आफू खुसी छ भने मात्र उसले अरूलाई खुसी बनाउन सक्छ । मानिसले आफ्नो बुद्धि र पौरखले खान सक्नुपर्छ । अरुले के कस्ता टिप्पणी गर्छन् थाहा छैन तर समग्रमा म परिवारकालागि असल छोरा, श्रीमान र बाबु हुँ । र विरामीकालागि एउटा जिम्मेवार चिकित्सक । यस्तो आत्म मूल्यांकन गर्न पाउँदा पनि बडो मजा लाग्छ । त्यसैले त म खुसी छु । त्यसै त भन्छु – डाक्टरी पेशा मेरालागि मखमली फूलजस्तो ।
- स्वास्थ्य खबरपत्रिका, २०६९ माघ अंकमा प्रकाशित