प्रसुतिगृह : पैसा गोजीमा, नक्कली उपकरण अस्पतालमा
prasuti

- डा. लता बज्राचार्य र अमर अमात्यको कमिसनको खेलले तुहियो, प्रसुतिगृहको टेष्ट्युब बेबी

 

                   

     डा. लता बज्राचार्य

 
- स्वास्थ्य खबरपत्रिका  /

 
प्रसूति गृह थापाथलीमा स्थापना गरिएको निःसन्तान उपचार केन्द्रमा आइभीएफ (जसलाइ टेष्ट्युब बेबी पनि भनिन्छ) उपकरण खरिदमा आर्थिक अनियमितता भएको रहस्य खुलेको छ । तत्कालीन निर्देशक डा.लता बज्राचार्य र खरिद अधिकृत अमर अमात्यको मिलेमतोमा सो अनियमितता भएको थियो ।

 
उनीहरुले कमसल उपकरण खरिद भएकाले सेवा नै चल्न नसम्ने अवस्था आएको प्रसूति गृह स्रोत बताउँछ । आर्थिक वर्ष २०६६ ÷ ०६७ सकिने अवस्थामा फ्रिज हुन लागेको बजेटलाई स्वास्थ्य मन्त्रालयबाट तत्कालीन सचिव सुधा शर्माको सहयोगमा रकमान्तर गरी खरिद ऐनको समेत गलत अर्थ लगाएर एक हप्ताको हतारोमा उनीहरुले आइभिएफ उपकरण खरिद प्रक्रिया अगाडि बढाएका थिए । गुणस्तरहीन उपकरण खरिद गरेको पाइएपछि अस्पतालले ठेकेदारलाई वाँकी रकम भुक्तानि रोकेको छ । अर्कोतिर, सोही उपकरणका कारण केन्द्रबाट एउटा पनि टेष्टट्युव बेबी उत्पादन नभएपछि करोडौंको लगानी व्यर्थ भएको छ ।

    

 आइभीएफ उपकरण

 
प्रसति गृहमा भवन निर्माणबाट बचेको रकममध्ये करिब १ करोड ५० लाख रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेपछि निर्देशक डा बज्राचार्य र अमात्यको स्वार्थमा आइभीएफ योजना बनेको स्रोतको भनाइ छ । नेपाल सरकारको खरिद ऐन अनुसार नयाँ सेवा शुरू गर्न टेन्डरबाट उपकरण खरिद गर्नुपर्ने भएपछि बज्राचार्य र अमात्यले अस्पतालमा सञ्चालनमा रहेको युटेरिन इन्सिमिनेसन सेवा बिस्तार गर्ने भन्दै खरिद योजना बनाएका थिए ।

 

 
खरिद ऐन अनुसार, सेवा बिस्तार गर्ने भनेपछि उपकरणहरु कोटेशनमार्फत किन्ने बाटो खुल्छ । खरिद ऐनको यस्तो सर्त कुनै उपकरण किनेर सेवा सुचारु रहेको अवस्थामा पुनः त्यस्तै प्रकृतिको उपकरण किन्नका लागि मात्रै लागु हुन्छ । तर उनीहरुले शुरु नै नभएको सेवालाई पुरानो बनाएर कोटेशनबाटै करोडौंको उपकरण किनेको पाइएको छ । उपकरण किन्ने क्रममा पुरानै सेवालाई विस्तार गर्ने भनेपनि तत्कालीन प्रधानमन्त्री झलनाथ खनाललाई प्रमुख अतिथि बनाएर नयाँ सेवा भन्दै उद्घाटन गराएर सेवा शुरु गरेका थिए ।

 

 
यो उपकरण हस्पिटेक इन्टरप्राइजेजमार्फत् १ करोड ८० लाख रुपैयाँमा खरिद गरिएको थियो । खरिद गर्दा दैनिक पत्रिकामा सूचनासमेत प्रकाशन नगरी कोटेशन मागिएको थियो । नियम अनुसार तीनवटा कोटेशन देखाउनु पर्ने भएकाले हस्पिटेक इन्टरप्राइजेजका सन्चालक बिशाल पण्डितले आफ्ना पकेटका सप्लायर्सबाट कम मुल्य तर गुन तिर्ने सर्तमा बाँकी कोटेशन हाल्न लगाएको स्रोतको दाबी छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत हुने औषधि, उपकरणलगायतको खरिदमा ७५ प्रतिशत हिस्सा हस्पिटेक इन्टरप्राइजेजको छ ।

 

 
हतारमा कोटेशन स्वीकृत गरेर पेश्कीसमेत दिइसक्दा पनि उपकरण कहाँ जोड्ने भन्नेमा तत्कालीन प्रशासन निर्णयमा पुग्न नसकेपछि झण्डै ६ महिना ढिलो गरेर उपकरण मगाइएको थियो । आश्चर्य लाग्दो कुरा त के छ भने यति महत्वपूर्ण उपकरण खरिद गर्नकालागि अस्पतालबाट कुनै पनि प्राबिधिक अध्ययनसमेत गरिएको थिएन ।
कुनै प्राविधिक स्पेसिफिकेशनसमेत नबनाइएकोले कम्पनीको तजविजीमा कम गुणस्तरको सामग्री भित्र्याइएको रहस्य त्यतिबेला खुल्यो जतिबेला पहिलो पटक गरिएको ९ वटा फर्टिलाइजेसन अर्थात् टेस्टट्युव वेवी उत्पादन प्रक्रियामा एउटा पनि सफल हुन सकेन ।

 

 
सेवा लिनकालागि आवेदन दिएका २५ मध्ये सबैभन्दा बढी संभावना देखिएका ९ जनालाई छानेर विज्ञहरुले पहिलो चरणका लागि सिफारिस गरेका थिए । कम्पनीसँग सामान किन्ने क्रममा कम्तिमा एउटा मात्रै भए पनि कृत्रिम गर्भाधान सफल भए मात्रै वाँकी भुक्तानी दिने सहमति भएको थियो । सो सहमति अनुसार फर्टिलाइजेसन सफल नभएपछि अस्पतालले कम्पनीको वाँकी ७५ लाख ५० हजार रुपैयाँ भुक्तानी रोक्का गरेको छ । उपकरण नै नजोड्दै डा.बज्राचार्य र अमात्यको मिलेमतोमा १ करोड १६ लाख रुपैयाँ दुई किस्तामा गरी भुक्तानी  दिइएको थियो । पहिलो किस्ताअन्तर्गत आर्थिक वर्ष ०६७÷६८ मा ७५ लाख ५० हजार र २०६८÷६९ मा ४० लाख ६८ हजार रुपैयाँ हस्पिटेकले पाइसकेको छ ।

 

 
सार्बजनिक खरिद नियमावली, २०६४ को नियम ११३ (१) बमोजिम खरिद सम्झौता रकमको २० प्रतिशत भन्दा बढी पेश्की दिन नपाउने व्यवस्था भएपनि डा बज्राचार्यले हस्पिटेकलाई ४ लाख ३६ हजार रुपैयाँ बढी पेश्की दिएकी थिइन् । सो रकमबाट निर्देशक र अमात्यलाई कमिशन आउने भएकाले बढी पेश्कि दिइएको दाबी अस्पताल स्रोतको छ ।
यही सिलसिलामा हस्पिटकेकले भुक्तानीकालागी झुटो विवरण पेश गरेको अर्को प्रमाणसमेत भेटिएको छ । हस्पिटेकले २०६७ चैत ६ गते सम्झौता भए बमोजिम काम पूरा भएको र तालीम समेत दिएको भनी झुठो बिबरण र बिल बिजकसमेत अस्पतालमा बुझाएको छ ।

 

 
अस्पतालले सम्झौता बमोजिम खरिद भएका उपकरणको स्पेसीफिकेशन अनुसार परिमाण र गुणस्तरीय सामान भए, नभएको जाँच र सर्तसमेत पूरा नगरी सेवा सन्चालन नै नभएको अवस्थामा नियमविपरीत ७५ लाख ५० हजार रुपैयाँ थप रकम भुक्तानी गरेकोसमेत पाइएको छ । यो खरिद प्रक्रियामा अनियमितता देखिएपछि अस्पतालले हाल बाँकी रकम ७५ लाख ५० हजार रुपैयाँ भुक्तानी रोकेको हो ।

 

 
ठेकेदारले सम्झौता मिति २०६७ असार २९ गते ९० दिन भित्र सामान ल्याएर जडान गर्ने र त्यसको १५ दिनभित्र सेवा सन्चालन गर्नुपर्ने सम्झौता भएपनि ६ महिना ढीला गरेर मात्रै उपकरण ल्याएका थिए ।
पहिलो सेवा सफल गराउनु पर्ने दायित्वसमेत ठेकेदारको भएकोले सेवा शुरु गर्नकालागि भारतबाट सम्बन्धित विषयका बिशेषज्ञसमेत उसैले झिकाएको थियो । कहलिएका विशेषज्ञ आएर सेवा शुरु गर्दा पनि सफल नहुनुले उपकरण नै कमसल भएको विज्ञहरुको ठहर छ । स्रोतका अनुसार कमसल उपकरणका कारण असफल देखाइएकाले आइभिएफकी तत्कालीन कोअर्डिनेटर डा.केशरी बज्राचार्यले पदबाट राजीनामा दिएकी थिइन् । सरकारी अस्पतालमा सुलभ शुल्कमा सन्तान पाउने सपना राखेर सेवा लिन आएकाहरुको समेत १ लाख ६० हजार रुपैयाँ खेर गएको छ ।

 

 
स्रोतका अनुसार हस्पिटेकका बिशाल पण्डितले धम्किपुर्ण शैलीमा बाँकी रकम फछ्र्यौट गर्न अस्पताललाई दवाब दिदै आएका छन् । अहिले अस्पतालका कामु प्रशासन प्रमुख रहेका अमात्यले आफ्नो अनियमितता ढाकछोप गर्न अस्पतालका निर्देशक डा. शीला बर्मालाई सो रकम फछ्र्यौटकालागि चर्को दबाब दिँदै आएको स्रोतले बताउँछ । अमात्यले यही बिषयलाई लिएर अस्पतालका महत्वपुर्ण कामका फाइल रोकी निर्देशक बर्मालाई अप्ठेरोमा पार्दै आइरहेका छन् ।

 

 

‘भ्रष्टका विम्ब हुन् अमात्य ’

 
अहिले अस्पतालका कामु प्रशासन प्रमुखको जिम्मेवारीमा रहेका अमर अमात्यसँग प्रसूति गृहका अधिकांश कर्मचारी रुष्ट छन् । कारण हो, उनको पैसामुखी चरित्र । ‘ उनी एक प्रकारका जुका हुन्’ स्वास्थ्य खबरपत्रिकाका संवाददाता अस्पताल पुग्दा अधिकृत स्तरीय एक कर्मचारीले उनका विषयमा भन्दै थिए ‘अस्पतालमा हुने सम्पूर्ण खरिददेखि आन्तरिक रुपमा हुने नियुक्ति एवम् जिम्मेवारी हेरफेरमा आमात्यले भाग खोज्छन् ।’ परिस्थिति र सन्दर्भ मिल्यो भने उनले पालेसँग एक सय रुपैयाँ पनि हात थाप्न पछि नहट्ने ति कर्मचारीको आरोप थियो । उनी भन्दै थिए, ‘भ्रष्टका विम्ब हुन् आमात्य ।’

 

 
सानादेखि ठुला सबै खरिद प्रकरणमा भाग खोज्ने यिनलाई कर्मचारीले अस्पतालको प्रमुख भ्रष्टसमेत मान्छन् । २०५५ सालमा अस्पलाल सन्चालक समितिले अमात्यलाई भ्रष्टाचारी ठहर गरी निलम्वन गरेको थियो । तर अमात्यले मोटो रकम खर्च गरेपछि अस्पतालमा पुन नियुक्ति पाएका थिए ।

 

 
अमात्य अस्पतालमा रहँदासम्म अस्पताल विकास हुन नसक्ने जिम्मेवार चकित्सकहरु बताउँछन् । यिनले हाल प्रसूती अस्पतालमा नर्सिङ कलेजलाई इन्टर्नकालागि विद्यार्थी पठाउन स्वीकृत दिने समयमा प्रत्यक्ष रुपमा पैसा माग्ने गरेको कलेज सञ्चालकहरु बताउँछन् । निलम्बनबारे स्वास्थ्य खबरपत्रिकाको जिज्ञासमा अमात्यले भने, ‘निलम्बन ठुलो कुरा होइन ।’  कुराकानीकै क्रममा उनी भन्दै थिए, ‘मेरा धेरै मान्छे छन्, मलाई कसैले छुन सक्दैन ।’

 

 
अमात्यले कम्पनीसँग मिलेर म्याद सकिनै लागेका औषधि अस्पतालकालागि किन्ने गरेको स्रोतको भनाई छ । पछिल्लो पटक अस्पतालमा भएको संक्रमण घटना पनि औषधिकै कारण भएको बताइन्छ । यही कारणले गत भदौ २५ गते देखि २९ गतेसम्म अस्पतालले ओटी नै बन्द गर्नुपरेको थियो । संक्रमण घटनाबारे छानविन गर्न गठित समितिले पनि औषधि खरिद प्रक्रिया पारदर्शी बनाउनु पर्ने, नर्सिङ कलेजका बिद्यार्थीको भीड कम गर्नुपर्ने, दक्ष अनुभवी नर्स राख्नुपर्ने, औषधि तथा सामग्री गुणस्तरयुक्त र उपयुक्त भण्डारण गर्नुपर्ने सुझाव दिएको छ ।

 
- स्वास्थ्य खबरपत्रिका, २०६९ माघ अंकमा प्रकाशित

 

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>